आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘डिजीटल ठमेल’ निर्माणका लागि भविश्वर शर्मा समूहको उम्मेदवारी (घोषणापत्रसहित) 


  • माउन्टेन खबर
  • शनिबार, असार २९, २०८१
  • 114
    SHARES
काठमाडौँ । मुलुकको  सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजीटल ठमेल’का रुपमा अगाडि बढाउन भविश्वर शर्मा  समूहले उम्मेदवारी प्रस्तुत गरेको छ ।
विगत दुई वर्षमा स्थानीय सरकार र विभिन्न निकायको सहकार्यमा ठमेलभित्रको ६२ ट्रिपर तार व्यवस्थापन, ११४ थान सिसि क्यामरा जडान, सडक कालोपत्रे, नयाँ २७ वटा विद्युतका पोल जडान, आवश्यकताअनुसार ट्रान्सफर्मर जडान, केही सडकवत्ती जडान र ढल व्यवस्थापन लगायतका कामलाई देखिनेगरी सकेका शर्मा समूहले ‘डिजीटल ठमेल’का रुपमा अगाडि बढाउन आफ्नो उम्मेदावरी  दिएको बताउनुहुन्छ ।
शर्मा समूहको घोषणापत्र 
ठमेल आजका दिनमा टुरिष्ट हबमात्र रहेन, यसले एक महत्वपूर्ण गन्तव्यको हैसियत पनि प्राप्त गरिसकेको छ । यो अन्तराष्ट्रिय स्तरको पर्यटन व्यवसायको क्षेत्र मात्र नभई, परापूर्वकालेदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको सुन्दर स्थल पनि हो । विदेशबाट नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेलमा उत्साहित रुपमा घुम्न आउने गर्दछन् । ठमेलको बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेकोबारे हामी (भविश्वर शर्मा समूह) सचेत र संकल्पकृत छौं ।
ठमेल र यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसँग हातेमालो गर्दै हाम्रो समूह मन, वचन र कर्मले अगाडि बढ्न प्रतिबद्ध छ । यसका लागि हाम्रो समूहमा आत्मविश्वास र अनुभवले भरिपूर्ण साथीहरु समावेश हुनुहुन्छ । हामी कुराभन्दा काममा विश्वास गर्छौं । ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि विगत दुई वर्षमा हामीले धेरै काम गरेका छौँ । स्थानीय सरकार र विभिन्न निकायको सहकार्यमा ठमेलभित्रको ६२ ट्रिपर तार व्यवस्थापन, ११४ थान सिसि क्यामरा जडान, सडक कालोपत्रे, नयाँ २७ वटा विद्युतका पोल जडान, आवश्यकताअनुसार ट्रान्सफर्मर जडान, केही सडकवत्ती जडान र ढल व्यवस्थापन लगायतका कामलाई देखिनेगरी सम्पन्न गरेका छौँ ।
यसबाहेक परिषद्ले स्थापनाकालदेखि गर्दै आएको नेपाली नयाँ वर्ष र अङ्ग्रेजी नयाँ वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।  ठमेल सडक फुड फेस्टिवल गरी आगामी दिनमा निरन्तरताका लागि अनुभव लिएका छौँ । यद्यपी समय अभावका कारण कतिपय कामहरु हामीले गर्न चाहेर पनि सकेनौँ, भ्याएनौँ । हाम्रो २ वर्षे कार्यकालमा गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्नका लागि पूनः तपाईँहरुसमक्ष निम्नलिखित संकल्पपत्र लिएर आएका छौँ ।
१) डिजीटल ठमेल निर्माण 
हामीले स्थानीय सरकार र सरोकारवाला निकायको सहकार्यमा ठमेलभित्रका समस्या सम्पन्न गरिसकेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँगै डिजिटल रुपमा अगाडि बढाउन सकेका थिएनौँ ।
यसपटक हामी निर्वाचित भएर डिजीटल ठमेललाई पहिलो प्राथमिकतामा राखि ठमेल पर्यटन विकास परिषद्को आफ्नो वेभसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको लिस्टिङ गरी स्वदेशी तथा विदेशी पर्यटकले आफुलाई चाहिने जानकारी र लोकेशन सहजै प्राप्त गर्नसक्ने र आवश्यक वस्तु तथा सेवाको खरीद तथा उपभोग गर्नमिल्ने गरी वेभसाईट निर्माण गरिनेछ । जसबाट व्यवसायीहरुले आफ्नो वस्तु तथा सेवालाई परिषद्कै साइटबाट प्रवद्र्धन र विक्रि गरी मुनाफा आर्जन गर्नसक्ने वातावरण बनाईनेछ । साथै, डिजिटल माध्यामबाट परिषद्का सदस्यज्यूहरुको गुनासो संकलन गरी समाधान लागि अधिकतम पहल गरिनेछ ।
कुनैपनि पर्यटक ठमेल प्रवेश गर्दा कुन घर र व्यवसाय कुन ठाउँमा छ भनेर सहजै पत्ता लगाउन सकोस् भन्ने उदेश्यले जिपिएस म्यापिङ को काम अगाडि बढाई सकिएको छ । जसलाई शतप्रतिशत कार्यान्वयन गर्दै ठमेलभित्र भएका सम्पदाहरुको खोज अनुसन्धान गरी पर्यटकको ठमेल बसाई थप लम्बाउन र ठमेलको संस्कृतिसँग पर्यटनलाई जोड्न सम्पदा सम्बन्धी पुस्तक प्रकाशन गर्ने, टुर रुट तयार गर्ने कार्य अगाडि बढाईनेछ ।
२. विशेष पर्यटकीय क्षेत्र घोषणा
नेपाल सरकारबाट औपचारिक रुपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन प्रभावकारी पहल गरिनेछ । जसबाट ठमेल क्षेत्रको सबै व्यवसायीहरुलाई पर्यटक स्तरिय व्यवसायीको रुपमा सुचीकृत गरी व्यवसाय गर्न सहज वातावरण निर्माण गरिनेछ ।
३. शान्ति सुरक्षा
२४ सै घण्टा सञ्चालनमा आउँदा लागू गरिएको आचारसंहितालाई अक्षरशः पालना गरी सम्बन्धित निकायको सहकार्यमा सुरक्षित ठमेल, मर्यादित ठमेलको अवधारणालाई पूर्णता दिइनेछ । व्यवसायिक वातावरण र घरधनीको मौलिक अधिकार हनन् नहुने गरी व्यवस्थित गरिनेछ । आवश्यक थप सिसि क्यामरा, सडक वत्ती र परिषद्को पहलमा ठमेलभित्र २४ सै घण्टा सडक सुरक्षा गार्डको व्यवस्था गरिनेछ ।
४. ट्राफिक व्यवस्थापन
सरकोरवाला सबैलाई मान्य हुने गरी वैज्ञानिक ट्राफिक प्रणालीको कार्यान्वयनमा जोड दिदै ठमेललाई अझ व्यवस्थित बनाउन प्रभावकारी पहल गरिनेछ । ठमेलका सबै सडक सवारीलाई नियमन गरी तीव्र गति, सडक पार्किङ, ध्वनी प्रदुषण र अनावश्यक सवारी चाप (पठाओ, खाली ट्याक्सी) लाई नियमन र नियन्त्रण गरिनेछ ।
५. फोहोर व्यवस्थापन
प्रभावकारी फोहोर व्यवस्थापन मार्फत ठमेललाई शतप्रतिशत प्रदुषणरहित बनाउन पहल गरिनेछ । फोहोरमात्र होइन, ध्वनि र दृश्य प्रदुषण नियन्त्रणका लागि पनि आवश्यक पहल गरिनेछ । ठमेलभित्रको नियमित सरसफाईलाई विशेष जोड दिइनेछ ।
६. तार तथा सडक बत्ती व्यवस्थापन
ठमेल पर्यटन विकास परिषद्को सक्रियतामा ठमेलभित्रको तार व्यवस्थापन भइसकेको र केही बाँकी व्यवस्थापन गर्नुपर्ने कुरालाई निरन्तरता दिई सडकवत्ती जडानको कार्य अघि बढीसकेको अवस्थामा उज्यालो ठमेलको अवधारणालाई पुरा गरिनेछ ।
७. विकृतिमुक्त ठमेल
व्यवसायमात्र होइन, पछिल्ला केही बर्षदेखि यो क्षेत्रमा अनेक खालका विकृतिहरु पनि देखापर्दै आएका छन् । विकृतिजन्य क्रियाकलाप र हकर तथा ब्रोकरसम्बन्धी समस्याहरुका बारेमा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी सभ्य ठमेल बनाउन पहल गरिनेछ ।
८. व्यवस्थित ठमेल
गत कार्यकालमा ठमेल पर्यटन विकास परिषद्ले फुटपाथ, नाङ्लापसले, फलफुल व्यापारी आदिका कारण सिर्जित समस्यालाई व्यवस्थापन गरीसकेको छ । उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।
९. घरवेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध
घरवेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध निर्माणका लागि आवश्यक कार्यक्रम गरिनेछ । बेलाबेलामा दुवै पक्षलाई राखेर उनीहरुबीच अन्तरकृयात्मक कार्यक्रम गर्ने जसबाट हामी एकै परिवारका सदस्य हौँ भन्ने भावना अझै बलियो हुनेछ ।
१०. स्थानीय रितिरिवाज र संस्कृतिको जगेर्ना
ठमेलभित्र हुने मेला, स्थानीय सांस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्न विशेष कार्यक्रम बनाईनेछ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रवद्र्धनका कार्यक्रम (जस्तै : आर्ट फेस्टिवल, फुड फेस्टिवल, संस्कृति झाँकी प्रदर्शनी, खेल पर्यटन, नेपाली मौलिक कला प्रदर्शनी) गरिनेछ ।
११. स्थानीय सम्पदा संरक्षण र प्रवद्र्धन 
– विर गणेशमान सिंह वृहद ठमेल आयोजना अन्तर्गतको नेवारी पुरानो थाकथलोका कारण नेवारी संस्कृति, परम्परा र इतिहास झल्काउने जसमा स्वच्छ, सफा सबै घर तथा होटल रेष्टुरेन्टहरु नेवारी इट्टा प्रयोग गरी एकरुपता ल्याई प्रत्येक नाकाहरुमा कलात्मक द्धार निर्माणका लागि पहल गरिनेछ ।
– ठमेलस्थित विक्रमाशिल महाविहारभित्र रहेको बुद्ध धर्मको पवित्र ग्रन्थ प्रज्ञापारमिताको         प्रचार गरी पर्यटनसँग जोडिनेछ ।
– कागतिहारको दिनमा मनाउने सुकुन्दा ¥यालीलाई प्रवद्र्धन गरिनेछ ।
– होली पर्वको भोलिपल्ट गरिने चक्यद्यः जात्रालाई प्रवद्र्धन र प्रचार गरिनेछ ।
– भगवानबहाल क्षेत्रमा मनाईने गाईजात्रालाई पर्यटनसँग जोड्ने गरि  विशेष प्रचारप्रसार गरिनेछ ।
१२. अनिवार्य गन्तव्य
ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यको रुपमा विकास गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रभावकारी पहल गरिनेछ ।
१३. गोलमेच
ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकीय आकर्षणका हिसाबले सबल बनाउन ठमेलसँग सम्बन्धित सबैलाई एकै थलोमा आमन्त्रण गरेर गोलमेच आयोजना गरी ठमेल गुरुयोजनालाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
१४. सम्पदा भ्रमण
ठमेल व्यवसायिक केन्द्रमात्र होइन, सम्पदास्थल पनि हो । अनेक मन्दिर, बहाल, चोक र गल्लीहरुको उचित व्यवस्थापन र प्रचारसहित ‘ठमेलमा सम्पदा भ्रमण’को अवधारणालाई विकास गर्दै लगिनेछ । हिटी टु हिटी वाक अवधारणा ल्याइनेछ ।
१५. निःशुल्क तालिम 
ठमेलमा विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरूलाई समयानुकुल दक्ष बनाउनका लागि आवश्यकता अनुसार निःशुल्क तालिम सञ्चालन गरिनेछ ।
१६. सेल्फीस्ट्रिट
ठमेलभित्रका खाली भित्ताहरुमा कला र संस्कृति झल्किने पेन्टिङ गरी सांस्कृतिक सेल्फीस्ट्रिट बनाइनेछ ।
१७. विविध
डिजिटल ठमेल, वाकिङ फ्रेन्ड्ली ठमेल, ठमेलको वैज्ञानिक र प्रस्ट म्यापिङ, फ्रि वाइफाई ठमेल, सडक मेला, पर्यटक फुटपाथ, आन्तरिक पर्यटन प्रवद्र्धन, पूर्णकालिन व्यवसायको बैज्ञानिक व्यवस्थापन लगायत ठमेलसँग सम्बन्धित कुनै पनि समस्या र सम्भावनाबारे आवश्यक समन्वय र प्रभावकारी पहल गरिनेछ ।
अन्त्यमा,  
सफा, सुन्दर र डिजीटल ठमेल हामी सबैको साझा संकल्प पनि हो । यसका लागि हातमा हात र साथमा साथले मात्र यो सम्भव हुन्छ । आउनुहोस्, यो अभियानमा हामी सँगै अगाडि बढौँ ।
निर्वाचन प्रचार प्रसार समिती, भविश्वर शर्मा समूह
ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचन–२०८१

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }