आइतवार, असार २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्घर्षको खेती


  • माउन्टेन खबर
  • बुधबार, असार १९, २०८१
  • 98
    SHARES

खगेन्द्रसिंह धामी

सम्झन्छु बाउले खनेको मम्मीले रोप्दै गरेको
बाली सप्रियोस् भनी भगवान जप्दै गरेको
रोपेका खेतहरू हराभरा हुँदै गएपछि
बाली फुल्दै डिल माथि झुल्दै गएपछि
एकछिन
खुसीले झुलेका बालाहरु हेर्दै मुस्कुराई
आनन्द लिनुहुन्थ्यो बालाहरू सुमसुम्याई
ढुकुरहरूले ती बालाहरूमा ठुङ्दै गर्दा
मुसाहरूले ती बालाहरूमा टोक्दै गर्दा
मुटुमा
ठुगे जस्तै लामो सास फेरेर खेततिर जानुहुन्थ्यो
मेरो कर्म र भाग्य यस्तै हो भनी छाती पिट्नुहुन्थ्यो
सकि नसकी बचाउने प्रयासमा लागिरहनुहुन्थ्यो
नभोक ननिद्रा खेततिरै धाइरहनुहुन्थ्यो
तर
कडा सङ्घर्ष र मेहनतले बचाएका बालीहरू
आकाश गंगाले अचानक बजाएका तालीहरु
गर्जिन्छ आकाश फाल्दछ असिना र पानी
त्यसपछि त बन्द हुन्थे आँखाका नानी
घरमा
बाल बच्चा चिच्याइरहेको आवाज पनि नसुनिने
आकाशबाट असिना परेको पनि थाहा नहुने
बानी परेको थियो बा आमालाई त कठिन संघर्षमा
पुगेको हुन्थ्यो बेलाबेला मन र मुटुको धड्कन उत्कर्षमा
के गर्नु
बालबच्चाको मुखमा खुसियाली ल्याउन
आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउन
कहिले प्रकृतिसँग कहिले छरछिमेकीसँग
सम्बन्ध र नाताहरु क्रमिक रूपमा गर्दै भङ्ग
रोकिएन
कहिल्यै कडा सङ्घर्षको यात्रा जीवनबाट
पुकार गरे भगवानलाई सधैं चोखो मनबाट
कहिले फाटेको लाउन कहिले ढिडो खान
कहिले माटोमा सुत्न कहिले बाटोमा सुत्न
कहिले
उहाँको आँसुले नुहाएर सफा हुन्थ्यो मुहार
अनि भन्नुहुन्थ्यो संघर्ष नै रहेछ जीवनको सार
सङ्घर्षको यात्रामा आफन्तहरू गुमाएर
सधैँ पसिना र आँसुको तलाउमा रमाएर
पनि
जीवनका बाँकी दिनहरू बिताउन बाध्य
घामका किरणसँगै आफूलाई जिताउन बाध्य
बालबच्चाको मुखमा खुसियाली हेर्न बाध्य
सधैँ सधैँ बालबच्चाको सामु आँसु लुकाउन बाध्य
तर
जिन्दगीले सङ्घर्षको नाममा चोट दिएर जाँदो रहेछ।
ओरालो लागेको मृगलाई त बाँच्छोले पनि खेद्दो रहेछ।
यही कुरो सिकाइ भएको छ उहाँको सङ्घर्षको यात्राबाट
अझै केही कुराहरू सिक्न बाँकी छन् देखिने जात्राबाट
बुझ्छु
जीवनका सङ्घर्ष र सम्बन्धहरू म पनि
ओठको हाँसो भित्री बन्धनहरु म पनि
दया र मायाका भावहरू पनि
जीवनका कयौँ स्वभावहरू पनि
अरे
न हेपियोस् चोखो मन र यो हृदयलाई
न रेटियोस् सपनाको त्यो संसारलाई
युद्धमा जाने रहर त अनगिन्ती छ
तर हतियारको हैन विचारको बिन्ती छ।
त्यो
संघर्षले मलाई थरीथरी सम्बन्ध सिकायो
केही न केही जीवनका सपनाहरू देखायो
माफ गर्नु
आमा सपनाहरू पूरा गर्न संघर्षरत छु म
सम्बन्धहरू जोगाउन प्रयत्नरत छु म
हजुरले देखाएको बाटोभन्दा बाहिर छैन
हजुरको विश्वासको घेरा भन्दा बाहिर छैन।
सलाम छ हजुरको संघर्षको खेतीप्रति
सलाम छ हजुरको संघर्षको खेतीप्रति।।।।।

(लेखक : टोखा नगरपालिकाका शिक्षा अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }