विदेशमा शारीरिक श्रमको सट्टा नेपालबाटै बौद्धिक श्रम गर्न सकिन्छ अनि आय आर्जनका लागि विदेशिनु पर्दैन भन्ने मान्यता सूचना प्रविधि दशकले स्थापित गर्ने पनि उनले बताए ।
आइटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्ने भन्दै सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको धारणा उनको रहेको छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताए ।
डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल गर्भनेन्सको सुधारका लागि सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढ्ने दृढता पनि उनले प्रकट गरिन् ।
उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने धारणा राखिन् ।सूचना प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने उनले स्पष्ट पारिन् ।
सार्वजनिक निजी साझेदारीमा ज्ञान पार्क बनाउने, स्नातक पढिरहेकालाई इन्र्टन गराउने , उद्यमशील वातावरण बनाउने, नवप्रवर्तन आयोग बनाउने कार्यहरु सूचना प्रविधि दशकका कार्यक्रम भएको पनि उनले बताइन् ।
कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले विगतमा ल्याएको पर्यटन र उर्जाको लक्ष्यबाट देखिने गरी लाभ लिन नसकिरहेको परिवेशमा सूचना प्रविधि दशक पनि त्यस्तै हुने त होइन भनेर चिन्ता प्रकट गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आइआइडिएसका परामर्शदाता डा. अमृता शर्माले डिजिटलाइजेसन म्याजिक नभएकाले राजनैतिक प्रतिवद्धतासहित स्थिरता आवश्यक रहेको धारणा राखिन ।
यो वर्ष प्रविधि दशकको प्रस्थान वर्षको रुपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने बताइन् । उनले भनिन्, ‘आइटी दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवद्र्धक र सम्वद्र्धकका रुपमा बस्नुपर्दछ ।’
नेपालमा अहिले १० हजार प्रतिवर्ष आइटी जनशक्ति उत्पादन भइरहेको र १ खर्बको सेवा निर्यात भइरहेको जानकारी उनले दिइन् ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्वाकांक्षी लक्ष्य नभई आइटीमा भइरहेको प्रगतिले गर्दा योजना भएको बताए । आइटीका एक्सपर्ट र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने स्पष्ट पारे ।
लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आफ्नो आंकलन रहेको बताए । यो क्षेत्रमा सहजता भएमा लगानी गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तराष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले अहिले आइटी क्षेत्रको विकास १६ दशमलव ८९ प्रतिशत वृद्धि भइरहेको बताउँदै लक्ष्य हासिल गर्न ३६ प्रतिशत वृद्धि गरि रहनु पर्ने आवश्यक रहेको बताए ।
किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउगाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्ने मात्र नभइ चलाउन प्रोत्साहन दिनु आवश्यक रहेको बताए । भुराजनीतिक स्थितिले गर्दा विदेशीको आकर्षणको केन्द्रको रुपमा नेपाल रहेको र छोरीलाई आइटीमा एस्पर्ट बनाइ नेपालमा बसेर विदेशको काम गर्ने वातावरण आइटी दशकले बनाउने विश्वास प्रकट उनले गरिन् ।