काठमाडौँ । स्वास्थ्य जीवनको कामना गर्दै आज विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि ‘ग्लोबल वेलनेश डे’ मनाइएको छ । स्पा सङ्घ नेपालले पनि नेपालमा ‘पर्यटनका लागि वेलनेश’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गर्यो ।
सङ्घका सचिव रामदेव महतोले राम्रोसँग दिवसका अवसरमा चेतना अभिवृद्धिका लागि प्रभातफेरी, योग र ध्यानलगायतका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
ग्लोबल वेलनेश डे सन् २०१२ देखि मनाउन सुरु गरिएको हो । सुरुमा टर्कीमा मनाउन सुरु गरे पनि हाल विश्वभर दिवश मनाउन थालिएको छ । उक्त दिवस हरेक वर्षको जुन महिनाको दोस्रो शनिबार मनाउने गरिएको सचिव महतोले बताउनुभयो ।
स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले मानिसको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने गतिविधिमा भाग लिन यस्ता दिवसले सहयोग पुग्ने बताउनुभयो । व्यायाम, ध्यान, स्वस्थ खाना, र आत्म–हेरचाह आदिले मानिसलाई स्वास्थ्य जीवनशैली जिउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।