आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आचारसंहिता पालना गर्न दलहरुले गरे प्रतिवद्धता


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 456
    SHARES

२२ चैत, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलवार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो । छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सो आचारसंहिता आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको उहाँले जानकारी दिनुभयो ।

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरुले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरु असन्तुष्टिकै बिच हस्ताक्षर गर्न तयार भएका थिए ।

छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभयो । आचारसंहिता अक्षरश पालना गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज राजनीतिक दलहरुको तर्फबाट निर्वाचन आयोगले जारी गरेको, निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा दलका अध्यक्ष वा प्रतिनिधि पदाधिकारीको तर्फबाट त्यो आचारसंहितामा प्रतिवद्धता जनाउनका लागि बोलाएको कार्यक्रम हो । त्यत्ति प्रयोजनका लागि बोलाएको कार्यक्रम भएको हुनाले त्यो भन्दा अन्य छलफल अन्य परामर्शहरु कुनैपनि भएको छैन । त्यसमा नेपाली कांग्रेसको तर्फबाट प्रतिवद्धता जनाएर म निर्वाचन आयोगसँग बिदा भएर हिडेको । त्यहाँ केही राजनीतिक दलका साथीहरुले केही कुरा बुझ्न खोज्नुभयो । निर्वाचन आयोगका प्रमुखले, निर्वाचन आयोगका आयुक्तहरुले उहाँहरुले उठाउनु भएका कुरामा प्रष्ट पार्नुभयो । सबैको चित्त बुझ्यो । सबैको चित्त बुझेपछि सबैले क्रमशः हस्ताक्षर गर्दै हुनुहुन्छ । कुनैपनि समस्यारहित तरिकाले काम अगाडी बढेको छ । निर्वाचन आचारसंहिताप्रति नेपाली कांग्रेसको पूर्ण प्रतिवद्धता छ । हाम्रो पार्टीका विभिन्न निकायमार्फत् त्यसलाई कार्यान्वयन गर्ने, लागु गर्ने कुरामा दलको जे भुमिका छ त्यो हामी अक्षरश पालना गर्छौ ।’

नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न तयार रहेको बताउनुभयो । पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको उहाँले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताउनुभयो । निर्वाचनको समयमा गाडी, मोटरसाइकल ¥याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिता विपरित दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उहाँले बताउनुभयो । उहाँले दलहरुका बिचमा चुनावी गठबन्धन हुनु सिद्धान्तविपरित र मतदाताको खरिदविक्री जस्तो भएको टिप्पणी पनि गर्नुभयो।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरुलाई हेपाहा प्रवृत्ति देखाएको बताउनुभयो । आयोगले गर्ने छलफलहरुमा साना दलहरुलाई सहभागि नगराउने गरेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }