आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 672
    SHARES

काठमाडौँ, १४ चैत्र।
बिपी सङ्ग्राहलय समितिले नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ । सङ्ग्राहलयले आज पत्रकार सम्मेलन गरेर बिपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल मितिबाट शुरु भई सुन्दरीजल जेल सङ्ग्राहलयमा रुपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवम् समीक्षा गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सङ्ग्राहलयका अध्यक्ष परशुराम पोखरेलले बिपी कोइरालाको कुशल र सफल नेतृत्वले नै वर्तमान नेपालको इतिहासको जग खडा भएकाले कोइरालाको विविध पक्षलाई समावेश गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

“बिपी कोइरालाको वृत्तचित्र निर्माणसँगै नेपाल–भारत सम्बन्धले थप उचाइ लिने विश्वास हामीले लिएका छौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो । वाग्मती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय काठमाडौँको आर्थिक सहयोगमा निर्माण हुन लागेको वृत्तचित्रको छायाङ्कन वैशाख दोस्रो हप्तादेखि गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

बिपी कोइरालाले बिएसम्म अध्ययन गर्नुभएको बनारस हिन्दू विश्वविद्यालय, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले पढाई शुरु गर्नुभएको हरिशचन्द्र हाइ स्कूल, विसं २०२५ मा सारनाथस्थित बिपी कोइराला भाडामा बस्नुभएको घर, बिपी तथा मात्रिकाप्रसाद कोइराला पहिलोपटक जेलजीवन बस्नुभएको वनारस जेल, बिपी कोइराला बनारसको सरकारी स्कूल पढ्न छाड्ने घोषणा गर्नुभएको स्थानलाई वृत्तचित्रमा समेटिनेछ ।

यस्तै, वृत्तचित्रमा पटनामा गोलघरको पार्कमा रहेको बिपी कोइरालाको शालिक, जय प्रकाश नारायणको नामबाट बिपी कोइरालाले उद्घाटन गर्नुभएको सङ्ग्राहलय, बैंक रोड अफ पटनालाई बिपी कोइरालाको नाममा निर्माण गरिएको सडक, बिहाटा एयरपोर्ट पटनालाई समावेश गरिनेछ । यसैगरी, कलकत्तास्थित नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस विसं २००६ मा एकीकरण भएपछि बनेको नेपाली कांग्रेसको पहिलो बैठक बसेको टाइगर सिनेमा हल, बिपी कोइरालाले कानूनमा विएलसम्मको अध्ययन गर्नुभएको कलकत्ता विश्वविद्यालय, सुवर्णशम्शेरको कलकत्ता पार्क स्ट्रीटमा भएको घर, कलकत्ताको भवानीपुरस्थित खाल्सा हाईस्कुलमा सन् १९४७ जनवरी २५ र २६ मा भएको कांग्रेसको प्रथम महाधिवेशनस्थलसमेत वृत्तचित्रमा समेटिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

बिपीको राजनीति जीवनलाई सफल बनाउन मूख्य भूमिका खेल्ने लौहपुरुष गणेशमान सिंह र सुवर्णशम्शेर जबराको भूमिकालाई वृत्तचित्रमा समावेश गरिने सङ्ग्राहलयका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाचार समिति ९रासस० का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिनुभयो ।

वृत्तचित्र निर्माणका लागि सङ्ग्राहलयले भारतको बनारस, कलकत्ता र पटनाको दुई चरणको भ्रमण सम्पन्न गरिसकेको छ । पहिलो चरणको भ्रमणमा सङ्ग्राहलयका अध्यक्ष पोखरेल, उपाध्यक्ष हेमन्त केशर पण्डित र सदस्य दिनेश अर्याल तथा दोस्रो चरणमा अध्यक्ष पोखरेल र सदस्य कुलचन्द्र वाग्लले भ्रमण गरिसक्नुभएको छ ।

सङ्ग्राहलयका कोषाध्यक्ष एवं पूर्वसभासद् पुरुषोत्तम बस्नेतले बिपी कोइरालासँग जोडिएका ऐतिहासिक ठाँउ जोगाउने मुख्य लक्ष्य वृत्तचित्रको रहेको बताउनुभयो । “बिपीको समग्र व्यक्तित्वलाई झल्काउने दस्तावेज तयार गर्ने सङ्ग्राहलयको उदेश्य हो”, उहाँले भन्नुभयो । नयाँ निर्माण हुन लागेको वृत्तचित्र चार घण्टाको हुने सङ्ग्राहलय समितिले जनाएको छ । विसं २०१५ को आमनिर्वाचनमा दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्नुभएका बिपी कोइरालाले स्वच्छ छविले नेपालमा १२ वर्ष मात्र काम गर्न पाउनुभएको थियो । बाँकी १२ वर्ष स्वदेश तथा विदेशका जेलमा जेलजीवन व्यथित गर्नुभएको कोइराला बाँकी जीवन भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }